आईजीपीको अडान – समायोजनमा जाने प्रहरीलाई पाँच ग्रेड सुविधा दिनुपर्छ

HTV Khabar ६ माघ २०८०, शनिबार ०७:२८ मा प्रकाशित

काठमाडौं,  प्रदेशमा समायोजनमा जाने प्रहरीलाई पाँच ग्रेड थप गर्नुपर्ने प्रस्ताव प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले गरेका छन्।


यसअघि समायोजन ऐनमा दुई ग्रेड मात्र थप्ने प्रावधान छ। समायोजनमा जान प्रोत्साहित गर्नका लागि पाँच ग्रेड थप्नुपर्ने अडान महानिरीक्षकले गरेका हुन्। यसका लागि प्रहरी समायोजन ऐन संशोधन गर्नुपर्ने हुन्छ। ‘कर्मचारी समायोजन गर्दा एक तह नै बढुवा गरिएको थियो, प्रहरीलाई चाँही ग्रेड थपमा पनि विभेद गरिएको छ,’ एक प्रहरी अधिकारी भन्छन्,‘त्यसकारण कम्तीमा पाँच ग्रेड थप बिना प्रहरी समायोजनमा जाँदैन।’


बुधवार प्रधानमन्त्री पुष्पकमल दाहालले १५ दिनभित्र समायोजनको तयारी गर्न निर्देशन दिएका थिए। त्यसपछि गृह मन्त्रालयले तयारीलाई तिव्रता दिएको छ। गृह मन्त्रालयले ५४ हजार प्रहरीलाई प्रदेशमा समायोजन गर्न लागेको छ।


समायोजन अघि संघीय प्रहरी ऐन अझै बन्न सकेको छैन। ऐनमा वृत्ति विकासका विषय प्रष्ट नगरी समायोजन प्रक्रिया सुरु गर्न नहुने प्रहरीको राय छ। समायोजन ऐनअनुसार डिएसपी सम्मका प्रहरीले समायोजनको फर्म भर्नुपर्ने हुन्छ।