एभरेस्ट बेसक्याम्प अवलोकन गरेर स्वदेश फर्किए शिखर

HTV Khabar २४ मंगशिर २०८१, सोमबार ०८:३७ मा प्रकाशित

काठमाडौं,  नेपाल प्रिमियर लिए (एनपीएल) खेल्न नेपाल आएका भारतीय चर्चित क्रिकेटर शिखर धवनले एभरेष्ट बेसक्याम्पको अवलोकन गरेका छन्।

उनीसहित कर्णाली याक्सका सहमालिक गृहेन्द्र घिमिरेसहितको टोलीले आइतबार एभरेष्ट बेसक्याम्पको अवलोकन गरेका हुन्। उनीहरुले ३–४ घन्टा एभरेष्ट बेसक्याम्पमा बिताएका थिए।

एभरेष्ट बेसक्याम्पको अवलोकनपछि शिखर आइतबार साँझ एयर इन्डियाको जहाजमार्फत स्वदेश फर्किएका छन्। यसअघि उनले एनपीएलका क्रममा पशुपति नाथ दर्शन गरेका थिए। शिखरले आउँदो मार्चमा नेपालको भ्रमणमा आउने चाहना व्यक्त गरेका छन्।

कर्णालीबाट ४ खेल खेलेका शिखरले एक अर्धशतकसहित १३६ रन बनाए। उनलाई कर्णालीले प्रत्येक खेलको ३० हजार डलर पारिश्रमिक दिने गरी एनपीएलमा भित्राएको थियो। भारत फर्किएका उनले नेपालमा एनपीएल खेल्दा राम्रो अनुभव भएको बताए। ‘राम्रो अनुभव भयो। नेपालका खेलाडीलाई केही सिकाउने र मैले पनि केही सिक्ने मौका पाँए,’ उनले भने।