टिकटक बनाउन बोलाएर बालकको छातीमा २ राउन्ड गोली प्रहार

HTV Khabar १५ वैशाख २०८२, सोमबार ०८:५० मा प्रकाशित

काठमाडौं,  रौतहटमा टिकटक बनाउने बहानामा बोलाएर बालकको गोली हानी हत्या गरेको खुलेको छ।

गत वैशाख ६ गते रौतहटको वृन्दावन नगरपालिका-७ का बालक कृष्णप्रसाद यादवलाई टिकटक बनाउने भन्दै मोबाइलमा फोन गरेर २५ वर्षीय नागेन्द्र सहनीले बोलाएका थिए।

सोही क्रममा बालकलाई टिकटिक बनाउन जाने भन्दै घरबाट बोलाएर चाँदी खोलामा पुर्‍याई हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो।

प्रहरीले हत्या गरेको आरोपमा संलग्न चारजनालाई पक्राउ गरी आईतवार सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा २५ वर्षीय नागेन्द्र सहनी, साधु भनिने २२ वर्षीय अर्का व्यक्ति नागेन्द्र सहनी, विकास पटेल र अनिल साह रहेको रौतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरेले जानकारी दिए।

पुरानो रिसिइबी साँध्न नागेन्द्रले बालक कृष्णलाई टिकटक बनाउने बाहनामा बोलाएर हत्या गरेको खुलेको उनले बताए। टिकटक बनाउने बहानामा कृष्णलाई बोलाएर छातीमा २ राउन्ड गोली हानेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

पक्राउ परेका चारै जनालाई जिल्ला अदालत रौतहटबाट ७ दिनको म्याद थप गरेर प्रहरीले अनुसन्धान थालेको छ।