पशुपतिको कैलाशमा पसल राख्न नपाइने

HTV Khabar १३ मंगशिर २०८१, बिहीबार १०:४७ मा प्रकाशित

काठमाडौं,  बाला चतुर्दशी पर्वका अवसरमा यस वर्ष पशुपति क्षेत्र विकास कोषले कैलाश क्षेत्रमा पसल राख्न नदिने भएको छ।

विगत वर्षमा कैलाशलगायत स्थानमा पसल राख्न दिँदा दिवंगत पितृका नाममा मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति बत्ती बाली चतुर्दशीका दिन बिहान सत्बीज छर्न आउने भक्तजनलाई असहज भएपछि यस वर्ष पसल राख्न निषेध गरिएको हो।

भुवनेश्वरीबाट वनकाली तर्फको भागमा मात्र पसल राख्न दिइने कोषका सदस्य सचिव डा.मिलनकुमार थापाले जानकारी दिए। तोकिएका स्थानबाहेक अन्यत्र पसल राख्नेलाई कानुनी कारबाही गर्ने निर्णय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको अध्यक्षतामा बसेको व्यवस्थापन बैठकले गरिसकेको उनले बताए।

बाला चतुर्दशी पर्वका लागि नेपाली सेनाले पाँचवटा ठूला पाल उपलब्ध गराएको छ। बाला चतुर्दशी पर्वका अवसरमा पशुपति क्षेत्रमा मासु, मदिरालगायत पदार्थको बिक्री वितरणमा रोक लगाइएको छ।