काठमाडौं, महाशिवरात्रिका अवसरमा काठमाडौंको पाशुपत क्षेत्र भएर गुड्ने सवारी साधनलाई ट्राफिक प्रहरीले डाइभर्सन गरेको छ।
पशुपति क्षेत्रतर्फ चल्ने सवारीसाधनलाई १२ स्थानबाट डाइभर्सन गरिएको छ। पुरानो बानेश्वर, सिनामंगल, मैतिदेवी मन्दिर, ज्ञानेश्वर, चाबहिल, सिफल चौर र लामापोखरीलगायत स्थानबाट पाशुपत क्षेत्रमा सवारीसाधन डाइभर्सन गर्नेगरी ट्राफिक प्रहरीले रुट बनाएको छ। पशुपति क्षेत्रमा आज बिहानैदेखि सामान बोकेका सवारीसाधन पनि चलाउन निषेध गरिएको छ।
सवारीसाधन व्यवस्थापनका लागि आजको दिनमा ५१३ ट्राफिक प्रहरी परिचालन गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। तर गौरीघाट हुँदै गोठाटारतर्फ चल्ने करिडोरमा सवारी चल्न दिइनेछ।
मालवाहक सवारीसाधन तीनकुने, जोरपाटीस्थित नारायणटार, चुच्चेपाटी, चाबहिल, सिनामंगल पुल र बसुन्धाराबाट गौशालातर्फ प्रवेश गर्न पाउँदैनन्। कोटेश्वरबाट बौद्ध र सुकेधारा जाने मालवाहक सवारीसाधन जडीबुटीबाट काँडाघारी हुँदै सञ्चालन गर्न दिइनेछ।
यस्तै पाशुपत क्षेत्रमा ६ ठाउँमा पार्किङस्थल तोकिएको छ। सिफल चौरमा दर्शनार्थीहरुले आफ्नो सवारीसाधन पार्किङ गर्न पाउनेछ।