काठमाडौं, भारतको अयोध्याबाट सोमवार हिँडेको सरयू–कमला एक्सप्रेस आज बिहान जनकपुरधाम आइपुगेको छ।
रेलमा आएका यात्रु र भारतका प्रतिनिधिलाई मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव र संघीय श्रम मन्त्री रामजी यादवले स्वागत गरेका छन्। दुई दिने राजकीय भ्रमणका लागि आइतबार दिल्ली पुगेका प्रधानमन्त्री बालेन्द्र शाह र उनका समकक्षी नरेन्द्र मोदीले सोमवार अपराह्न हरियो झण्डा देखाएर उक्त रेलको शुभारम्भ गरेका थिए।
अयोध्या रेल्वे स्टेसनमा विशेष कार्यक्रम आयोजना गरी नयाँ वन्दे भारत एक्सप्रेस रेललाई हरियो झण्डा देखाएर सेवा शुभारम्भ गरिएको थियो। करिब ६०४ किलोमिटर दूरीको यो रेल सेवा जनकपुरधामदेखि अयोध्या क्यान्टसम्म सञ्चालन हुनेछ। रेलले बिहार र उत्तर प्रदेशका विभिन्न प्रमुख सहर तथा स्थानलाई जोड्नेछ।
भारतको प्रेस इन्फर्मेसन ब्युरो (पीआईबी)का अनुसार यो रेल सातामा एकपटक सञ्चालन हुनेछ। जनकपुरधामबाट प्रत्येक शनिवार र अयोध्या क्यान्टबाट सोमवार रेल छुट्नेछ। रेलले अन्तिम गन्तव्यबाहेक जयनगर, मधुबनी, शिशो, सीतामढी, रक्सौल, नरकटियागन्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धाममा व्यावसायिक रूपमा यात्रु चढाउने तथा ओराल्ने सुविधा दिनेछ।
नयाँ रेल सेवाले नेपाल र भारतबीचको धार्मिक पर्यटन तथा सीमापार आवागमनलाई सहज बनाउने अपेक्षा गरिएको छ। रामायण परम्परासँग जोडिएका माता सीताको जन्मभूमि जनकपुरधाम र भगवान् रामको जन्मभूमि अयोध्यालाई रेलमार्गबाट जोड्दा तीर्थयात्री तथा पर्यटकलाई प्रत्यक्ष लाभ पुग्नेछ।
यसले रामायण सर्किटअन्तर्गत धार्मिक पर्यटन प्रवर्द्धन गर्नुका साथै शिक्षा, व्यापार र पारिवारिक भेटघाटका लागि सीमापार यात्रा गर्ने यात्रुलाई समेत सहजता प्रदान गर्नेछ। रेलमार्गले जोड्ने क्षेत्रका होटल, पर्यटन व्यवसाय, स्थानीय व्यापार तथा आतिथ्य क्षेत्रमा समेत आर्थिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ।
नेपाल र भारतबीच ऐतिहासिक, सांस्कृतिक तथा सामाजिक सम्बन्ध रहँदै आएको छ। धार्मिक परम्परा र सीमावर्ती समुदायबीचको आवागमन दुई देशको सम्बन्धका महत्त्वपूर्ण आधार हुन्। नयाँ रेल सेवाले यी सम्बन्धलाई थप मजबुत बनाउनुका साथै दुई देशबीचको यातायात सम्पर्क र द्विपक्षीय सहकार्य विस्तारमा योगदान पुर्याउने भारतीय रेल मन्त्रालयले जनाएको छ।
नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार करिब ६०४ किलोमिटर दूरी तय गर्ने उक्त रेल सेवाले बिहार र उत्तर प्रदेशका विभिन्न प्रमुख सहर हुँदै जनकपुरधामलाई अयोध्या क्यान्टसँग जोड्नेछ। उनले रेल सेवा सातामा एकपटक सञ्चालन हुने बताए।
कम्पनीका प्रबन्ध सञ्चालक पराजुलीका अनुसार निर्धारित समयतालिकाअनुसार रेल नम्बर १५५९५ प्रत्येक शनिवार दिउँसो १:१० बजे जनकपुरधामबाट प्रस्थान गरी आईतवार बिहान ८:१० बजे अयोध्या क्यान्ट पुग्नेछ। त्यसैगरी रेल नम्बर १५५९६ प्रत्येक सोमवार साँझ ५:५० बजे अयोध्या क्यान्टबाट प्रस्थान गरी मङ्गलबार दिउँसो १२:४० बजे जनकपुरधाम आइपुग्नेछ।
रेलका जयनगर, मधुवनी, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धाममा व्यावसायिक बिसौनी रहनेछन्। ती स्थानबाट यात्रु चढ्न तथा ओर्लन सक्ने व्यवस्था गरिएको छ।