जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलको फाइनलमा

HTV Khabar ३ पौष २०८१, बुधवार ०४:४७ मा प्रकाशित

काठमाडौं,  विनोद भण्डारीको अर्धशतक मदतमा जनकपुर बोल्ट्सलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनलमा प्रवेश गरेको छ।

ओपनर विनोदले अविजित रहँदै ५८ रन बनाएपछि जनकपुरले दिएको १४० रनको लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर १४१ रन बनाउँदै पूरा गरेको हो। विनोदले ५५ बल खेल्दा ३ चौका र ३ छक्का प्रहार गरे। कप्तान दीपेन्द्र सिंह ऐरील अविजित २० रन बनाए। उनले १६ बल खेल्दै १ चौका र १ छक्का प्रहार गरे। ऐरीले चौका प्रहार गर्दै खेल जिताएका थिए। जनकपुरका ललित राजवंशी र किशोर महतोले १-१ विकेट लिए।

त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाएको थियो। जनकपुरका लागि जिमी नीशमले २३ बल खेल्दै ३ चौका र ३ छक्का मद्दतमा सर्वाधिक ४५ रन बनाए। शुभ कंसाकारले २४ बलमा २६ रन जोडे। अन्य खेलाडीले उल्लेख्य योगदान गर्न सकेनन्।

बलिङमा सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले ३ तथा सैफ अली जैबले २ विकेट लिए। स्कट कुगेलेइन र अविनाश बोहराले समान १ विकेट लिए। सुदूरपश्चिमले दोस्रो पटक जनकपुरलाई पराजित गरेको हो।

क्वालिफायर वानमा पराजित भएपनि जनकपुरले फाइनल पुग्नका लागि अर्को खेल खेल्ने अवसर पाउनेछ।जनकपुरले अब एलिमिनेटरको विजेता कर्णाली याक्ससँग बिहीबार क्वालिफायर टु खेल्नेछ।