काठमाडौं, नेपाल र भारतसहित मधेश क्षेत्रमा चोरी, डाँका तथा अपहरणलगायत आपराधिक घटनामा फरार एक आरोपी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा मोरङको ग्रामथान गाउँपालिका–२ का ४० वर्षीय खड्कनारायण माझी छन्। महोत्तरी र मोरङ प्रहरीको संयुक्त टोलीले विभिन्न आपराधिक घटनामा संलग्न आरोपमा माझीलाई पक्राउ गरेको हो।
माझी भारतको सितामढी जिल्ला तथा नेपालका महोत्तरी, सम्सी, गौशाला लगायतका क्षेत्रमा चोरी, डाँका, लुटपाट तथा अपहरण जस्ता गम्भीर आपराधिक क्रियाकलापमा संलग्न रहेको आरोपमा प्रहरीको खोजी सूचीमा थिए।
पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय महोत्तरी ल्याइएको उनलाई जिल्ला अदालत महोत्तरीमा पेश गरिएको थियो। सोमवार माझीलाई महोत्तरी जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि जलेश्वर कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी नन्दकिशोर प्रसाद चौहानले जानकारी दिए।