सर्लाही प्रहरीको सफलता : हुन्डी कारोबारको ३७ लाख रुपैयाँ बरामद

HTV Khabar २० चैत्र २०८०, मङ्गलबार ०६:२८ मा प्रकाशित

सर्लाही, सर्लाहीमा प्रहरीले हुन्डीको कारोबार गरेको अभियोगमा २ जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट ३७ लाख रुपैयाँ समेत बरामद भएको जिल्ला प्रहरी प्रमुख दयानिधि ज्ञवालिले जानकारी दिएका छन्।

आईतवार दिउँसो प्रहरी निरीक्षक सविन कार्कीको टोलीले मलंगवा नगरपालिका-९ स्थित सडक खण्डमा २४ वर्षीय कमर राजालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उक्त रकम फेला परेको हो।

कालो रङको झोला पिठ्यूँमा बोकी हिँड्दै आएको अवस्थामा जाँच गर्दा १ हजार दरको १० लाख रुपैयाँ र बैंकको २ वटा ९ लाख ९० हजार दरको चेक फेला परेको थियो।

प्रहरीको बयानमा राजाले रकम आरिफ अन्सारीले सञ्‍चालन गरेको फोन सिटी मोबाइल पसलबाट ल्याएको बताएका थिए। त्यसपछि प्रहरीले मोबाइल पसलमा पुगेर खान तलासी गरेको थियो।

पसलभित्र कपडाको झोलामा लुकाई राखेको थप २७ लाख ७५ हजार रुपैयाँ फेला परेको छ। प्रहरीले अन्सारीलाई पनि नियन्त्रणमा लिएको प्रहरी प्रमुख ज्ञवालिले एचटिभी खबरलाई बताएका छन्।