काठमाडौं, किवानिज ईन्टरनेशनल नेपाल डिष्ट्रिक्ट (K69) अन्तर्गत किवानिज क्लब अफ स्टोरी नेपाल लगायतका विभिन्न क्लबका पदाधिकारीको एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
डिष्ट्रिक्टले आफ्ना मातहतका सबै क्लबहरुले किवानिज ईन्टरनेशनलको उदेश्यअनुरुप बालबालिकाको क्षेत्रमा उच्च मनोभावले सेवाकार्य गर्नसकुन तथा बालबालिकाको वृत्ती विकासका लागि कार्यहरू सम्पादन गर्न सक्षम बनुन भन्ने उदेश्यसहित क्लबका पदाधिकारीहरुको नेतृत्व विकासका निम्ति एकदिने प्रेरणादायी प्रशिक्षण आयोजना गरिएको डिष्ट्रिक्ट गभर्नर तिर्थकुमार सिंहले एचटिभी खबरलाई बताएका छन्।
सुकेधारा धुम्बराहीस्थित दियो महलमा आयोजित प्रशिक्षण कार्यक्रममा बिहान १०:३० बजेदेखि दिउँसो ३:०० बजेसम्म चलेको थियो। प्रायःजसो भनेको समयमा कार्यक्रम शुरु नहुने नेपाली परम्परालाई तोड्दै यो प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्र भनिएको ठिक समयमा नै शुरुभएको हुनाले पनि किवानिज ईन्टरनेशनल नेपाल डिष्ट्रिक्ट (K69) का गभर्नर तिर्थकुमार सिंह समयको महत्त्वलाई बुझेका व्यक्ति हुन् भन्न सकिन्छ।
विभिन्न क्लबबाट सहभागी तथा प्रशिक्षकका रूपमा उपस्थित सबैलाई सारगर्भिक डिष्ट्रिक्ट गभर्नर सिंहले स्वागत गरेका थिए। डिष्ट्रिक्ट भाईस गभर्नर रामशरण थपलियाले प्रशिक्षण कार्यक्रमका बारेमा प्रकाश पारेका थिए।
पूर्व गभर्नर एकराज पन्त, निवर्तमान गभर्नर लक्ष्मण लम्साल, किवानिज ईन्टरनेशल एस्प्याक चेयरमेन सुजन कुमार श्रेष्ठ, किसिएफएन ट्रष्टी बाबू कृष्ण कार्की, किवानिज ईन्टरनेशनल ट्रष्टी तथा पूर्व गभर्नर मोहन लम्सालले प्रशिक्षण कार्यक्रमको सफलताको लागि शुभकामना दिएका थिए।
दोस्रो सत्रमा शुरु भएको प्रशिक्षण कार्यक्रमका प्रशिक्षक सविता उप्रेतीको डिष्ट्रिक्ट सेक्रेटरी युवराज न्यौपानेले र प्रशिक्षक सन्देश दास श्रेष्ठको मेम्बरसिप ग्रोथ चेयरमेन रमा प्याकुरेलले परिचय गराएका थिए।
प्रशिक्षकको रूपमा उपस्थित अशक्त बालबालिकाको पूनर्स्थापनाका लागि स्थापित विशेष विद्यालय (SSDRC) को संस्थापक अध्यक्ष तथा सामाजिक कार्यकर्ता सविता उप्रेतीले प्रेरणादायी रूपमा आफ्ना जीवनका भोगाई र अनुभव बताएकी थिइन्।
अन्तर्राष्ट्रिय प्रशिक्षक सन्देश दास श्रेष्ठले समाज रुपान्तरणमा सामाजिक नेतृत्वकर्ताको भूमिका, प्रकार तथा विशेषताको बारेमा अन्तरक्रियात्मक रूपमा प्रशिक्षण दिएका थिए।
अन्त्यमा डिष्ट्रिक्ट गभर्नर इलेक्ट कृष्ण प्रसाद ज्ञवालीले धन्यवाद ज्ञापन गरेका थिए भने डिष्ट्रिक्ट गभर्नर सिंहले प्रशिक्षकहरुलाई मायाको चिनो प्रदान गरि प्रशिक्षण कार्यक्रम समापन गरेका थिए।