तराई मधेशमा ४ दिन तातो हावा चल्नसक्ने चेतावनी

HTV Khabar १० वैशाख २०८१, सोमबार ०७:०६ मा प्रकाशित

काठमाडौं, मौसम पूर्वानुमान महाशाखाले नेपालको तराई क्षेत्रमा चार दिनसम्म तातो हावा चल्नसक्ने बताएको छ। 

महाशाखाका अनुसार केही दिनदेखि देशका अधिकांश भागको अधिकतम तथा न्यूनमत तापक्रम क्रमिक रुपमा वृद्धि भइरहेको छ। केही स्थानमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा त्यसभन्दा बढी मापन भएको छ।

विभागको तथ्यांकअनुसार सोमबार दिउँसो अधिकतम तापक्रम भैरहवामा ४०.९ र सिमरामा ४० डिग्री सेल्सियस मापन भएको छ। यस्तै जनकपुरमा ३९.४, धनगढीमा ३८.८ र नेपपालगञ्जमा ३८.४ डिग्री सेल्सियस मापन भएको छ।

महाशाखाका अनुसार धनुषादेखि कञ्चनपुरसम्म (चितवन र नवलपुरबाहेक) का क्षेत्रमा १४ वैशाखसम्म अध्यधिक गर्मी हुने सम्भावना छ। तातो हावा तथा तातो लहरको सम्भावना रहेकाले त्यस क्षेत्रकाले सतर्कता अपनाउन अनुरोध गरेको छ।

तातो हावा वा तातो लहर चलेमा थकाइ लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, बान्ता हुने जस्ता समस्या हुनसक्छ। यसबाट बच्न बढी गर्मीको समयमा घरभित्र वा चिसो स्थानमा बस्न, घाममा धेरै नजान, हल्का लुगा लगाउन, पानी वा झोल पदार्थ प्रशस्त मात्रामा पिउन विभागले सल्लाह दिएको छ।

पहाडी भूभागका उपत्यका र खोँचहरुमा समेत तापक्रम क्रमिक रुपमा बढ्न सक्ने पूर्वमानुमान समेत मौसम पूर्वानुमान महाशाखाको छ।