लागुऔषधसहित पर्साबाट चार जना पक्राउ

Njn khanal ५ असार २०८२, बिहीबार ०५:४२ मा प्रकाशित

काठमाडौं,  पर्सा प्रहरीले ठुलो परिमाणमा लागुऔषध अफिमसहित चार जनालाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा लागुऔषध ब्युरो र पर्सा प्रहरीको संयुक्त टोलीले अफिम जस्तो देखिने अवैध लागुऔषधसहित बुधवार चार जनालाई पक्राउ गरेको हो।

वीरगन्जको रजतजयन्ती चोकबाट पर्साको पटेर्वा सुगौली गाउँपालिकाका विनोद गिरी, प्रदीप चौधरी,जीतेन्द्रकुमार श्रीवास्तव र रमेश राउतलाई पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालले बताए।

उनका अनुसार पक्राउ परेकाहरू दुई वटा मोटरसाइकलमा रजतजयन्ती तर्फबाट आइरहेका थिए। सोही क्रममा जाँच गर्दा मोटरसाइकलको बिचमा राखिएको कालो झोलाबाट बेरिएको अवस्थामा अफिम जस्तो देखिने एक किलो लागु औषध बरामद भएको प्रहरी प्रवक्ता लम्सालले बताए।

पक्राउ परेकाहरूमाथि लागुऔषध कसुरमा अदालतबाट पाँच दिनको म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।