साँगाबाट स्रोत नखुलेको २५ लाख बरामद, दुईजना पक्राउ

HTV Khabar ७ जेठ २०८२, बुधवार ०७:४९ मा प्रकाशित

काठमाडौं,  प्रहरीले काभ्रेको बनेपा नगरपालिका-१४ साँगाबाट स्रोत नखुलेको २५ लाख रुपैयाँ नगदसहित दुई जनालाई पक्राउ गरेको छ।

मंगलवार दिउँसो पनौतीबाट काठमाडौंतर्फ जाँदै गरेको बा ३ ख २४१६ नम्बरको यात्रुबाहक बस रोकेर जाँचको क्रममा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१ का २१ वर्षीय राजन धमालाले बोकेको रातो जेब्रा झोलाबाट स्रोत खुल्न नसकेको २५ लाख रुपैयाँ नगद फेला परेको हो।

नगद बोकेका धमालासँगै यात्रामा रहेका उनका साथी सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ निवासी ३८ वर्षीय सञ्जय कुमार साहालाई समेत प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।  उनीहरुमाथि थप अनुसन्धान भइरहेको बताइएको छ।