सिमरौनगढमा पोखरी खन्ने क्रममा भेटियो सूर्य भगवानको मूर्ति

HTV Khabar २१ वैशाख २०८१, शुक्रबार १०:१९ मा प्रकाशित

काठमाडौं, बाराको सिमरौनगढमा पोखरी खन्ने क्रममा भगवान सूर्यको मूर्ति फेला परेको छ। सिमरौनगढस्थित इतवालमा निजी पोखरी खन्ने क्रममा बुधवार मूर्ति फेला परेको स्थानीय रञ्जित कुशवाहाले बताए।

‘डोजर लगाएर पोखरी खन्ने क्रममा सूर्यको मूर्ति फेला परेको हो। मूर्तिको तल सातवटा घोडाका आकृति छन्, जसले यो सूर्य भगवानको मूर्ति हो भन्ने प्रष्ट हुन्छ,’ उनले भने, ‘मूर्ति निकाल्दा माथिल्लो भागमा थोरै चोट लागेको छ। मूर्ति वरपर भएका स–साना भगवानका चोट भने पुरानै हो।’

यो मूर्तिको लम्बाई ३६ इन्च र चौडाई १० इन्च छ। अहिले मूर्तिलाई इतवाल नजिक बन्दै गरेको हनुमान मन्दिरमा राखिएको छ। महानगरपालिकाले संग्रहालय बनाउने हो भने यो मूर्तिसहित अन्य फेला परेका मूर्ति र सामग्रीलाई सुरक्षित राख्न सकिने कुशवाहाले बताए।

सिमरौनगढ यस्तो ठाउँ हो, जहाँ कुनै पनि ठाउँ खन्दा केही न केही पुरातात्विक सामग्री फेला पर्छ। त्यही भएकाले यहाँ तीन फिट भन्दामुनि खन्न नपाइने नियम छ। उक्त नियमको कार्यान्वयन भने भएको छैन।

गत वर्षको असारमा मात्रै सिमरौनगढको वडा नम्बर १ मा पर्ने नसागराढाटमा ब्रह्माको मूर्ति फेला परेको थियो।

त्यसअघि हरिहरपूरमा भगवान विष्णुको मूर्ति फेला परेको थियो। स्थानीय कुशवाहाका अनुसार गएको ७ वर्षमा पोखरी खन्दा अहिलेसम्म १४ वटा मूर्ति फेला परिसकेको छ।