सरकार र यातायात व्यवसायीबीच ६ बुँदे सहमति

HTV Khabar २० जेठ २०८२, मङ्गलबार ०९:३९ मा प्रकाशित

काठमाडौं,  सरकार र यातायात व्यवसायीबीच सहमति जुटेको छ। सोमवार राति भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बसेको तेस्रो चरणको बैठकमा सरकार र यातायात व्यवसायीबीच ६ बुँदे सहमति भएको हो।

गण्डकी प्रदेश सरकारले निजी सवारीसाधनलाई भाडामा सञ्चालन गर्न पाउनेगरी नियमावली बनाएर कार्यान्वयनमा लैजान लागेको भन्दै त्यसविरुद्ध यातायात व्यवसायीले आन्दोलन थालेका थिए।

सरकारी वार्ता टोलीका सदस्य एवं गृहमन्त्रालयका सूचना अधिकारी रवीन्द्र आचार्यले गण्डकी प्रदेशले गरेको निर्णयका सन्दर्भमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाउने र प्रधानमन्त्री कार्यालयमार्फत गण्डकी प्रदेश कार्यालयमा अनुरोध गर्नेगरी सहमति भएको जानकारी दिए।

यता यातायात व्यवसायीले समितिमा सहमति भए पनि प्रदेश सरकारले नियमावली स्थगन नगरेसम्म आन्दोलन फिर्ता नहुने अडान जारी राखेका छन्।