कुर्मी हत्या प्रकरण : एकै परिवारका चारसहित पाँचजना पक्राउ

HTV Khabar ७ असार २०८२, शनिबार ०७:४९ मा प्रकाशित

काठमाडौं,  बारा प्रहरीले जेठ २९ गते कलैयामा भएको कुटपिट तथा मृत्यु प्रकरणमा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

कलैया उपमहानगरपालिका-१४ बघवनका ५० वर्षीय नन्दु राउत कुर्मीको हत्या अभियोगमा प्रहरीले एकै परिवारका चारसहित पाँच जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बघवनका ३८ वर्षीय उमेश जयसवाल, उनको श्रीमती ३५ वर्षीय रञ्जुदेवी, २० वर्षीय छोरा सुमित र १८ वर्षीय छोरा सुजित रहेका छन्। यसैगरी ३४ वर्षीय दिगम्बर प्रसाद जयसवाल रहेका छन्।

प्रहरीले घटनाको मुख्य आरोपित उमेशलाई विहिवार बिश्रामपुर गाउँपालिकाबाट पक्राउ गरेको हो भने उनको श्रीमती रञ्जुदेवीलाई असार ४ गते कलैयाबाट नियन्त्रणमा लिएको थियो।

पक्राउ परेका व्यक्तिहरूले कुर्मीलाई बघवनस्थित एक राइस मिल अगाडि कुटपिट गरी घाइते बनाएका थिए। कुटपिटबाट गम्भीर घाइते कुर्मीको उपचारका क्रममा मृत्यु भएको थियो। घटनापछि मृतकका छोरा दीपेन्द्र पटेलले ६ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए।