प्रहरीलाई अब १६ वर्षमै पेन्सन सुविधा

HTV Khabar २ जेठ २०८१, बुधवार ०७:०० मा प्रकाशित

काठमाडौं, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीले अब १६ वर्षको जागिर अवधिमै पेन्सनसहित अवकाश पाउने भएका छन्।

मङ्गलवार राष्ट्रपतिले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सेवानिवृत्त हुने अवधि पुनरावलोकन गर्ने उल्लेख गरिएको छ।जसअनुसार न्यूनतम पेन्सन अवधिलाई २० वर्षबाट १८ मा झार्न लागिएको गृह मन्त्रालयले जनाएको छ।

गृह मन्त्री रवि लामिछानेले नै यससम्बन्धी प्रक्रिया अघि बढाएका छन्। नीति तथा कार्यक्रमको बुँदा नम्बर १८० मा भनिएको छ,‘सबै तहका प्रहरी कर्मचारीको सेवानिवृत्त हुने अवधि पुनरावलोकन गरी बढुवा प्रणालीलाई अनुमानयोग्य बनाइनेछ।’

गृह मन्त्रालयका एक अधिकारीका अनुसार यसका लागि कानून संशोधन प्रक्रिया अघि बढीसकेको छ। मन्त्री लामिछानेले पेन्सन अवधिलाई १६ वर्षमा झारिने प्रतिबद्धता यसअघि नै व्यक्त गरिसकेका छन्।

नेपाल प्रहरी र सशस्त्र प्रहरीका तल्लो तहका कर्मचारीले यस्तो माग राख्दै आएका छन्।नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा १६ वर्षमै पेन्सन सुविधा दिन माग हुँदै आएको छ। दुवै प्रहरीको ऐन संशोधन गरी यस्तो व्यवस्था गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ।