कारले मोटरसाइकललाई ठक्कर दिँदा मालपोत अधिकृतको मृत्यु

HTV Khabar ५ चैत्र २०८०, सोमबार ११:१४ मा प्रकाशित

काठमाडौं, मोटरसाइकललाई कारले ठक्कर दिँदा मालपोत अधिकृतको मृत्यु भएको छ। आईतवार साँझ भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वार अगाडि कारको ठक्करबाट मोटरसाइकल चालक तिलक बहादुर रावतको मृत्यु भएको हो।

बा २१ च ७५५३ नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३–०२–००१ ब ४८० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक रुपन्देहीको मझगावास्थित मालपोत कार्यालयका प्रमुख (मालपोत अधिकृत) ४२ वर्षीय तिलक बहादुर रावतको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीले जनाएको छ।

रावत रुकुमको मुसिकोट नगरपालिका–१ घर भइ हाल रुपन्देहीको मालपोत कार्यालयमा कार्यरत थिए। कार चालक लुम्बिनी सांस्कृतिक नगरपालिका–३ का ५३ वर्षीय अलाउद्दिन मुसलमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ।