सम्पत्ति शुद्धीकरण मुद्दामा बम्जन कारागार चलान

HTV Khabar १८ जेठ २०८२, आइतबार ०९:१० मा प्रकाशित

काठमाडौं,  विवादास्पद धार्मिक व्यक्तित्व रामबहादुर बम्जनलाई दोस्रो पटक कारागार चलान गरिएको छ। रामबहादुर बम्जन भनिने रामलाल बम्जनलाई सम्पत्ति शुद्धीकरण मुद्दामा सर्लाही जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको हो।

जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले उनलाई थुनामा राख्ने आदेश गरेपछि मलंगवा कारागार चलान गरिएको हो। सोमवार सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको प्रतिवादका लागि अदालतमा उपस्थित भएका उनलाई तत्काल प्राप्त प्रमाणले उनलाई निर्दोष मान्न नसकिने भन्दै थुनामा पठाउने आदेश भएको हो। 

गत फागुन ५ गते बम्जनविरुद्ध ८ करोड ५९ लाख रुपैयाँबराबरको अवैध कारोबार गरेको अभियोगमा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएको थियो। त्यतिखेर उनी बाल यौन दुव्र्यवहारको कसुरमा दोषी ठहर भई कारागारमा कैद भुक्तान गरिरहेका थिए।

जिल्ला अदालत, सर्लाहीले उनलाई बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ६६ (३) ’छ’ अनुसारको कसुर गरेको ठहर गरेको थियो। जिल्ला अदालतले उनलाई १० वर्ष कैदको सजाय तोकेको थियो। पीडितलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला पनि भएको थियो।

तर उच्च अदालत राजविराजले उनीविरुद्धको मुद्दा हदम्यादबाहिरको भन्दै खारेज गरिदिएको थियो। न्यायाधीशद्वय नरीश्वर भण्डारी र खेमराज भट्टको संयुक्त इजलासले गत चैत ६ गते गरेको फैसलामा हदम्याद नघाएर ल्याएको अभियोगपत्रको विषयवस्तुमा प्रवेश गर्न आवश्यक नै नभएको उल्लेख गरिएको छ।उक्त फैसलालगत्तै बम्जन कारागारमुक्त भएका थिए।

विभिन्न आपराधिक गतिविधिमा संलग्न भएको अभियोगमा उनलाई प्रहरीले पक्राउ गरी अदालतमार्फत पुर्पक्षका लागि थुनामा पठाएको हो।प्रहरीका अनुसार बम्जनमाथि अपहरण, कुटपिट, जबर्जस्ती धर्म परिवर्तन र बेपत्ता पारिएको अभियोगमा अनुसन्धान अघि बढाइएको छ।

यसअघि पनि उनीमाथि यस्ता गम्भीर आरोपहरू लागेका थिए, तर अनुसन्धान प्रक्रिया लम्बिँदै आएको थियो।प्रहरीका अनुसार बम्जनमाथि नयाँ प्रमाणहरू फेला परेपछि उनीमाथि पुनः कारबाही अघि बढाइएको हो। अदालतले प्रारम्भिक सुनुवाइपछि उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।

रामबहादुर बम्जन एक समय ’लिटिल बुद्ध’ नामले चर्चित भएका थिए। उनको अनुयायीहरूको ठुलो सङ्ख्या रहेको भए पनि पछिल्लो समय उनीमाथि विवादास्पद गतिविधिहरूमा संलग्न भएको गम्भीर आरोप लाग्दै आएका छन्। उनका केही पूर्व अनुयायीहरूले नै अमानवीय व्यवहार र शारीरिक यातना दिएको आरोप लगाएका थिए।

सुरक्षा निकायहरूले बम्जनसँग सम्बन्धित विभिन्न घटनाहरूको थप अनुसन्धान जारी राखेको जनाएको छ। यदि अदालतमा आरोपहरू प्रमाणित भएमा उनलाई कानुन बमोजिम कडा सजाय हुन सक्ने बताइएको छ।

२०८० सालको पुसमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौं बूढानीलकण्ठस्थित एक घरबाट उनलाई पक्राउ गरेको थियो। बूढानीलकण्ठमा उनलाई पक्राउ गरेर घरमा खानतलासी लिँदा उनको घरबाट सीआईबीले ३ करोड ३ लाख नेपाली रुपैयाँ र अरू १७ देशका मुद्रा ३० लाख ९२ हजार रूपैयाँ बराबरका बरामद भएका थिए।