काठमाडौं, सशस्त्र प्रहरीले अवैध रुपमा नेपाल प्रवेश गरेको एक नाइजेरियन नागरिकसहित दुई जनालाई पक्राउ गरेको छ। झापास्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट तिरिङले नाइजेरियन नागरिक अनेकोर सिमोन ओगेचुकु र भारतीय नागरिक सनम राईलाई पक्राउ गरेको हो।
सशस्त्र प्रहरीको टोलीले उनीहरूलाई मेचीनगर नगरपालिका– १ डिल्लीगौडा भन्ने ठाउँबाट पक्राउ गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाले जनाएको छ।
भारत पश्चिम बङ्गाल दार्जिलिङ जिल्ला मणिग्राम पञ्चायत मारा पुल बस्ने राईले नाइजेरियन नागरिक ओगेचुकुलाई डब्लुबी ७४०७५८ नम्बरको भारतीय मोटरसाइकलमा राखेर अवैध बाटो भएर नेपाल प्रवेश गराउन खोजेका थिए।
नाइजेरियन नागरिक ओगेचुकुबाट ४ हजार ५ सय भारतीय रुपैयाँ,दुई थान मोबाइल,एक थान एनआइसी एसिया,एक थान नाइजेरियन पासपोर्ट, भिसा र भारतीय नागरिक राईको साथबाट एक थान मोबाइल, भारतीय एटिएम, भारतीय रुपैयाँ १४ हजार ४२० फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।