काठमाडौं, कोटेश्वरका व्यापारी रामहरी श्रेष्ठको हत्याको अभियोगमा पक्राउ परेका पूर्व लडाकु कमाण्डर कालीबहादुर खामलाई पुर्पक्षका लागि थुनामा पठाउन उच्च अदालत पाटन हेटौँडा इजलासले आदेश दिएको छ।
उच्च अदालत पाटन हेटौँडा इजलासले शुक्रवारको न्यायाधीशद्वय शान्ता सेढाई सापकोटा र मेरिना श्रेष्ठको संयुक्त इजलासले कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत चितवनको आदेशलाई सदर गर्दै पुर्पक्षमा राख्न आदेश गरेको हो।
गत चैत २० मा काठमाडौँबाट पक्राउ परेका खामलाई जिल्ला अदालत चितवनले चैत २३ मा पुर्पक्षमा राख्न आदेश गरेको थियो। उक्त आदेश बदरको माग गर्दै खाम पक्षले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो। सो मुद्दामा उच्च अदालत पाटन हेटौँडा इजलासले खामलाई थुनामा नै राख्न आदेश गरेको हो।
जनमुक्ति सेनाका पूर्वकमाण्डर खाममाथि कोटेश्वर बस्ने व्यापारी श्रेष्ठको हत्या गरेको आरोप छ। २०६५ वैशाख २८ मा नारायणी नदीमा श्रेष्ठको शव भेटिएको थियो।