भैरहवा, भैरहवास्थित एसियन होटल प्रालिको परिसरमा सञ्चालित एलिगेन्ट क्यासिनोका दुई जना कर्मचारीमाथि गएराति अज्ञात समूहले सांघातिक आक्रमण गरेको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार उक्त क्यासिनोका महाप्रबन्धक समीर शर्मा र क्यासीनोका क्यास म्यानेजर बैकुन्ठ न्यौपानेमाथि आक्रमण भएको हो। दुवै जनाको खुट्टा र हातमा चोट लागेको छ।
घाइते दुवै जनाको भैरहवास्थित युनिभर्सल शिक्षण अस्पतालमा उपचार जारी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी तथा प्रवक्ता नवीन पौडेलले बताए। उनका अनुसार सोमवार राति ड्युटी सकेर खाना खान क्वाटरमा गएको बेलामा १० बजेतिर ४/५ जनाको अज्ञात समूहले उनीहरुमाथि कुटपिट र आक्रमण भएको हो।
‘घाइतेको अवस्था हेर्दा कुनै धारिलो हतियारले आक्रमण गरेको देखिन्छ,’ डीएसपी पौडेलले भने, ‘आक्रमणकारीको खोजी र अनुसन्धान जारी छ।’ कुटपिट तथा आक्रमण गरिनुको कारण पनि खुल्न सकेको छैन। घाइते दुवै जनाको अवस्था खतरामुक्त छ।