अख्तियारद्धारा झण्डै एक अर्ब घोटालामा संलग्न दूरसञ्चार प्राधिकरणका दुई पूर्वअध्यक्षसहित १९ जनाविरुद्ध मुद्दा दायर

HTV Khabar १५ चैत्र २०८०, बिहीबार ०६:१७ मा प्रकाशित

काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्षसहित १९ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

अख्तियारले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको आरोपमा प्राधिकरणका पूर्वअध्यक्ष दिगम्बर झासहित १९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो।

नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष झा र पुरुषोतम खनाल, पूर्व वरिष्ठ निर्देशक आनन्दराज खनाल, बहालवाला निर्देशकहरु दिपेश आचार्य, सुरेन्द्र हाडा र अच्यूतानन्द मिश्र लाई पनि प्रतिवादी बनाइएको छ।

प्राधिकरणका आन्तरिक लेखापरीक्षण शाखाका उपनिर्देशक सुरेश बस्नेत, योजना तथा व्यवस्थापन सूचना प्रणाली शाखाका उपनिर्देशक रेवतीराम पन्थ, अनुमतिपत्र व्यवस्थापन शाखाका उपनिर्देशक संदिप अधिकारी र कविन्द्रराज मल्लविरूद्ध अख्तियारले भ्रष्टाचार मुद्धा दायर गरिएको विशेष अदालत स्रोतले बतायो।

विशेष अदालतमा दायर मुद्दामा ९१ करोड ९८ लाख ३० हजार ८८२ रुपैयाँ बिगो दाबी गरिएको छ। उनीहरुमाथि महंगोमा एमडीएमएसको सामान किनेर प्रयोग बिहिन बनाएको आरोप छ।

एमडीएमएसको खरिदमा अनियमिततामा मुछिएपछि तत्कालीन अध्यक्ष खनालले राजीनामा दिएका थिए। उनीहरूले एमडीएमएस खरिद प्रक्रियाको टेण्डर प्रक्रिया, परामर्शदाता छनौटलगायतका काममा भ्रष्टाचार गरेको खुलेको थियो। नेपाल दूरसंचार प्राधिकरणले उक्त सिस्टम २०७९ साल भदौ ३० गतेदेखि लागू गरेको थियो। नेपालमा भित्रिने मोबाइल फोनहरूको गैरकानुनी आयात रोक्न एमडीएमएस सिस्टम लागू गरेको थियो।