जिप दुर्घटना अपडेट : आठको मृत्यु, सबैको सनाखत

HTV Khabar ३१ फाल्गुन २०८०, बिहीबार ०४:५७ मा प्रकाशित

काठमाडौं, धरानबाट भोजपुर घोरेटारतर्फ जाँदै गरेको को१ज २५९३ नम्बरको जिप आज बिहान १०ः३० बजेतिर उदयपुरको बेलका-७ मैनामैनीमा दुर्घटना परि यात्रुवाहक जिपमा सवार भएका यात्रुहरु आठजनाको मृत्यु भएको छ। घटनास्थलमा नै सातजनाको मृत्यु भएको थियो भने थप एकजनाको धरानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुदीपराज पाठकका अनुसार मृतक सबैको सनाखत भएको छ। 

मृत्यु हुनेमा इटहरी-९ का चालक ४० वर्षीय मानबहादुर बस्नेत, भोजपुरको हतुवागढी गाउँपालिका-२ का ७० वर्षीया पर्वतमाया राई, सोही वडाका २३ वर्षीय चन्द्रप्रकाश राई, छ महिनाकी बालिका बिसाङ चाम्लिङ राई, हतुवागढी-५ की ३२ वर्षीया राजकुमारी राई, हतुवागढी–९ का ६८ वर्षीय पदमबहादुर थापा, ४५ वर्षीया कमला अधिकारी र हतुवागढी-५ का ४२ वर्षीय किशन राईको सनाखत भएको प्रहरी प्रमुख डिएसपी पाठकले जानकारी दिएकाछन्। किशन राईको उपचारका क्रममा मृत्यु भएको हो। 

साथै दुर्घटनामा परी गम्भीर घाइते भएकालाई उद्धार गरी उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। इलाका प्रहरी कार्यालय घोरेटारबाट सातजना र हसनपुरबाट पाँचजना गरी १२ जना प्रहरीको टोलीलाई तत्काल घटनास्थलमा पठाएर उद्धारको व्यवस्था मिलाइएको प्रहरी प्रमुख डिएसपी पाठकले जानकारी दिए। घाइतेको पनि विवरण लिने काम भइरहेको प्रहरीले जनाएको छ। 


जिपमा क्षमताभन्दा बढी यात्रु सवार रहेको कारण दुर्घटना भएको हुनुपर्ने प्रहरीको प्रारम्भिक अनुमान छ।