हराएका १७ वटा सवारी साधन ट्राफिक प्रहरीद्वारा धनीलाई हस्तान्तरण

HTV Khabar २७ माघ २०८०, शनिबार १०:४४ मा प्रकाशित

काठमाडौं, विभिन्न मितिमा हराएका १७ ओटा दुईपाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले शुक्रवार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमबीच कार्यालयका प्रहरी उपरीक्षक सन्तोष आचार्यले १४ ओटा मोटरसाइकल र ३ ओटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा, केही वास्तविक नम्बर प्लेटमै र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौं उपत्यकाका बौद्ध, माछापोखरी, कालोपुल, बाफल, कालिमाटी, दरबारमार्ग, सिंहदरबार, नारायणटार, कपन, गहनापोखरी, बालाजु, बुढानिलकण्ठ, चुनदेवी, फर्पिङ र नयाँबसपार्कलगायतका स्थानमा ती सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको जनाएको छ।


काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनको आधारमा खोजी गर्ने क्रममा फेला परेका दुई सय ५२ ओटा सवारी साधन चालु आर्थिक वर्षको हालसम्म ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ।