हराएका २० वटा मोटरसाइकल ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई बुझायो

HTV Khabar २८ माघ २०८१, सोमबार ०७:०७ मा प्रकाशित

काठमाडौं, ट्राफिक प्रहरीले विभिन्न मितिमा हराएका २० वटा दुई पाङग्रे सवारी साधन (मोटरसाइकल/स्कुटर) फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज सोमवार आयोजित कार्यक्रममा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले १२ वटा मोटरसाइकल र ८ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्‍त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौंको पेप्सीकोला, काँडाघारी, फर्पिङ, कालिमाटी, लैनचौर, गौशाला, धर्मस्थली, नयाँ बसपार्क र बौद्ध लगायतका स्थानबाट उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो।

आज सोमवार बुझाइएका २० वटासहित ३०३ ओटा सवारी साधन साउन महिनादेखि आजसम्म ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ भने चोरीका ३३ वटा दुई पाङ्ग्रे सवारी साधनसहित चोरीमा संलग्न ४८ जना व्यक्तिलाई पनि आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ।

आफ्नो सवारी साधन जिम्मा लिएपश्चात सवारी धनीहरूले ट्राफिक प्रहरीलाई  धन्यवाद दिएका छन्। आर्थिक वर्ष २०७९/०८० मा ४९९ वटा र ०८०/०८१ मा ४१७ वटा दुई पाङ्ग्रे सवारी साधन खोजतलास गरी ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाएको थियो।