प्रहरीमा जवानदेखि खेलाडीसम्म भर्ना खुल्यो, जवान पदमा मात्रै १ हजार ८५६ जना माग

HTV Khabar २६ माघ २०८०, शुक्रबार ०९:५८ मा प्रकाशित

काठमाडौं, नेपाल प्रहरीले १ हजार ८५६ जना जवान पदमा भर्ना खोलेको छ। यसैगरी भान्छे ५३, हजाम ७, कूचिकार २० र खेलाडी १४ जनाका लागि पनि भर्ना खुलेको छ।


खेलाडीमा एथलेटिक्स, उसु, भारोत्तोलन, कराँते, तेक्वान्दो, जुडो, भलिबल, फुटबल, टेबल टेनिस र बक्सिङ विधामा मात्र दरखास्त दिन पाइने आज सार्वजनिक सूचनामा उल्लेख छ। प्रहरी प्रधान कार्यालय नक्शालले शुक्रवार सार्वजनिक सूचना जारी गर्दै भर्ना खुलेको जानकारी गराएको हो।


दरखास्त दिने म्याद फागुन २ गतेदेखि चैत ९ गतेसम्म छ। जवान र प्रहरी कार्यालय सहयोगी पदका लागि सातवटै प्रदेश प्रहरी तालिम केन्द्रमा र काठमाडौं उपत्यकाका तीन जिल्लासहित सबै जिल्ला प्रहरी कार्यालयहरुमा दरखास्त बुझाउन सकिन्छ।


खेलाडीहरुका लागि भने काठमाडौंको महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा मात्र दरखास्त फारम बुझाउनु पर्ने छ। यसैगरी गत कात्तिक ३ गते भर्ना खुलेको प्रहरी सहायक निरीक्षक (असई) पदमा १०५ जना थपिएको पनि प्रहरी प्रधान कार्यालयले जनाएको छ।