काठमाडौं, चितवनको भरतपुर नारायणगढमा ७० करोड लगानीमा नयाँ पोल्ट्री फार्म खुल्ने भएको छ। अभिनास ग्रुपले ६९ करोड ९० लाख रुपैयाँ लगानीमा अभिनास एर्वर एकर नेपाल प्रालिको नामबाट पोल्ट्री फार्म खोल्ने भएको हो।
सन् २०२० मा दर्ता भएको कम्पनीले पोल्ट्री ब्रिडिङ, फार्मिङ र वितरण गर्ने जनाएको छ। कम्पनीले २ सय रोपनी क्षेत्रफलमा ६ वटा पोल्ट्री फार्म निर्माण गरेको छ। जसमा अटोमेटिक दाना खाने, पानी खाने, अन्डा उत्पादन र बत्तीको सुविधा रहेको जनाएको छ।
कम्पनीले ह्याचिङको व्यापार भने नवलपरासीबाट गर्ने भएको छ। उक्त स्थानमा बेल्जियममा बनेको पेटेरसाइन सिग्नल स्टेज इन्क्यूबेटर रहेकाले सोहीबाट ह्याचिङ हुने रेटिङमा उल्लेख गरेको छ। कम्पनीअनुसार सो मेसिनबाट अटोमेटिक अण्डाको ग्रेडिङ र सर्टिङ सिस्टम हुनेछ। कम्पनीमा गुणचन्द्र विस्टको ७० प्रतिशत स्वामित्व रहेको छ।
कम्पनीले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि ७२ करोड २२ लाख रुपैयाँको रेटिङ गराएको छ। जसमा कम्पनीले दीर्घकालीन कर्जा ५० करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि २२ करोड २२ लाख रुपैयाँ लिने भएको छ। कम्पनीले निर्माण गरिरहेको फार्ममा ७२ प्रतिशत बैंकबाट कर्जा लिने भएको छ भने बाँकी २८ प्रतिशत लगानीकर्ताले लगानी गर्ने भएको छ।
अभिनास ग्रुपले अभिनास ह्याचरी, अभिनास फार्म र गौरीशंकर एग्रो उद्योग सञ्चालन गर्दै आएको छ। हालसम्ममा कम्पनीको ५६ प्रतिशत आर्थिक प्रगति भइसकेको छ। सन् २०२६ सम्ममा पूर्ण क्षमतामा सञ्चालन गर्ने गरी निर्माण भइरहेको कम्पनीले जनाएको छ।