झण्डै ७ किलो सुन र आधा करोड रुपैयाँसहित पक्राउ परेका भारतीय नागरिक सार्वजनिक

HTV Khabar २ फाल्गुन २०८०, बुधवार ११:१७ मा प्रकाशित

पोखरा, पोखराबाट ६ किलो सुन र ६ तोला चाँदीसहित पक्राउ परेका भारतीय नागरिक सुरजित भौमिकलाई प्रहरीले सार्वजनिक गरेको छ।


सोमवार बिहान पोखरा २ मोहोरियाटोलबाट पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले आज सार्वजनिक गरेको हो। उनको घर भारतको पश्चिम बंगालस्थित मेदिनीपुर दासपुर हो।


उनलाई ६ किलो सुन र ६२ लाख रुपैयाँ नगदसहित पक्राउ गरिएको कास्कीका प्रहरीले जनाएको छ। कोठाभित्र लुकाइछिपाइ राखेको ६.६९ किलो सुन, ६ तोला चाँदी र ६२ लाख ८१ लाख रुपैयाँको स्रोत खुलाउन नसकेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।


३ तले घर भाडामा लिई बस्दै आएका भौमिकले अवैध सुन आयात गरी गरगहना बनाएर बिक्री गर्दै आएको सुराकीका आधारमा प्रहरीले पक्राउ गरेको जनाएको छ। सुरजितलाई आवश्यक कानुनी कारबाहीका लागि बुधबार राजस्व अनुसन्धान विभाग ललितपुर पठाउइने कास्की प्रहरीको भनाई छ।