लागुऔषध सहित मेडिकल सञ्चालक दम्पत्ति पक्राउ

HTV Khabar १५ माघ २०८१, मङ्गलबार ०४:२१ मा प्रकाशित

काठमाडौं, लागु औषधसहित मेडिकल सञ्चालक दम्पत्तिलाई प्रहरीले पक्राउ गरेको छ। सुनसरीको धरान उपमहानगरपालिका–३ गौधारा स्थितबाट मेडिकल सञ्चालक दम्पत्ति र धरान–८ बाट अर्का एक दम्पत्तिलाई लागुऔषध सहित प्रहरीले पक्राउ गरेको छ।

१४ माघ राति मेडिकल पसलमा लागुऔषध बिक्री वितरण भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी टोली खटिएको थियो। उक्त टोलीले पसलभित्र खानतलासी गर्दा कार्टुनमा लुकाइ छिपाइ राखेको अवस्थामा ट्रामोल २ हजार क्याप्सुल र स्पास्पेन ७ हजार ९ सय ३० ट्याब्लेट सहित मेडिकल सञ्चालक धरान–३ का ४१ वर्षीय सुरज बनेम र उनकी श्रीमती ४२ वर्षीया टिम्पल श्रेष्ठलाई पक्राउ गरिएको हो।

यसैगरी धरान–८ का ३१ वर्षीय सन्तोष परियार र उनकी श्रीमती २० वर्षीया अनुष्का श्रेष्ठले लागुऔषध कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले भान्सा कोठाबाट ट्रामोल ५ सय ३२ क्याप्सुल र स्पास्पेन ५ सय २८ ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो।

लागुऔषध सहित परेका उनीहरूको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको छ।