१५ लाख रुपैयाँ बराबरका मोबाइलसहित एक पक्राउ

HTV Khabar १२ पौष २०८०, बिहीबार ०८:४३ मा प्रकाशित
बारा, भन्सार छलेर भारतबाट नेपालमा बिक्रीका लागि ल्याएका १५ लाख रुपैयाँ बराबरका मोबाइलसहित एकजनालाई बारा प्रहरीले पक्राउ गरेको छ।

भन्सार छलेर ल्याइएका १५ लाख रुपैयाँ बराबरका विभिन्न कम्पनीका ५१ थान मोबाइल र चार्जरसहित प्रहरीले बारागढी गाउँपालिका–३ खोपवाका रुपन भन्ने रूपनारायण चौधरीलाई पक्राउ गरेको हो।

विशेष सूचनाको आधारमा बुधवार राति ८ बजेको समयमा प्रहरीले चौधरीको घरमा छापामारी गर्दा विभिन्न कम्पनीका ५१ थान मोबाइल, ४८ थान चार्जर र ९ थान ब्याट्री बरामद गरेको बारा प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले जानकारी दिएका छन्।

प्रहरी प्रमुख काफ्लेकाअनुसार मोबाइलसहित पक्राउ परेका चौधरीलाई जिल्ला प्रहरी कार्यालय बारामा नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको छ।