काठमाडौं, बेचबिखन मुद्दामा फरार रहेका प्रतिवादी ३२ वर्षपछि पक्राउ परेका छन्। धादिङ मेत्रावती गाउँपालिका-२ का ५७ वर्षीय वीरबहादुर तामाङ पक्राउ परेका हुन्।
मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले उनलाई बुधवार ललितपुर महानगरपालिका -१४ तिखेदेवलबाट पक्राउ गरेको हो।
एक महिलालाई ब्रुनाइ पठाइदिन्छु भन्दै झुक्याएर २०४७ चैत ३ गते भारतको पश्चिम बंगाल पुर्याएको आरोप छ। काठमाडौंबाट लगेर काकडभिट्टा हुँदै पश्चिम बंगालको बागडोरामा पुर्याएर बेचेको ब्युरोले जनाएको छ।
तामाङले भारतीय नागरिकसँग १० हजार भारतीय रुपैयाँ लिएर ती महिलालाई बेचेको अनुसन्धानबाट खुलेको छ। उनीमाथि प्रहरीले थप अनुसन्धान थालेको छ।