काठमाडौं, सुनसरीको इटहरीमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा भएको आगलागीमा फसेका १६ जनाको उद्धार गरिएको छ।
उद्धार हुनेहरुमा ११ पुरुष र ५ महिला छन्। इटहरी उपमहानगरपालिका–६ स्थित सेन्टर प्लाजामा बिहान साढे ९ बजेदेखि भएको आगलागीमा उनीहरु फसेका थिए। आगो नियन्त्रणका लागि अहिले सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाका साथै स्थानीय समेत खटिएका छन्।
सशस्त्र प्रहरीको नं. १ बराह बाहिनीबाट एसएसपी मनिष थापाको कमाण्डमा खटिएको १०५ जनाको टोलीका साथै नेपाली सेना र नेपाल प्रहरीका ६ वटा दमकलको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको छ।
उक्त प्लाजामा केही व्यक्ति रहेको आशंकामा उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर समेत पठाइएको छ। गृहमन्त्री रमेश लेखकको सचिवालयले हेलिकप्टर पठाइएको बताएको छ। हेलिकप्टरबाट समेत उद्धार सुरु गरिएको छ। अझै प्लाजाभित्र ३ जना फसेको देखिएको उद्धारकर्ताहरुको भनाइ छ। उनीहरु उद्धारको पर्खाइमा छन्।