काठमाडौं, नेपाली काङ्ग्रेसका महामन्त्री तथा संघीय सांसद गगनकुमार थापाले राष्ट्रिय विपत्तिको बेलामा पक्ष र प्रतिपक्ष भन्न नहुने बताएका छन्।
कपनको रिभरसाइड ब्याङ्क्विटमा आयोजित समसामयिक घटनाक्रम, पार्टीको सांगठनिक विषय र विपद्को बारेमा भएको बूढानीलकण्ठ नगरपालिका वडा नं ११ को नेपाली काङ्ग्रेसको पूर्ण बैठकमा काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधि सभा सांसद एवं काङ्ग्रेस महामन्त्री गगन थापाले उक्त कुरा बताएका हुन्।
बूढानीलकण्ठ नगरपालिका वडा नं.-११ का इकाई सभापति राधेश्याम कार्कीको सभापतित्वमा भएको पूर्ण बैठकमा महामन्त्री थापालाई ११ का वडाबासी नेपाली काङ्ग्रेस कार्यकर्ताले विकास निर्माण लगायत भर्खरै देशभरनै आईपरेको बाढ्पहिरो र डुबान जस्ता विपत्तिको समयमा सरकारको उदासीनताको गुनासो राख्दै बूढानीलकण्ठ नगरपालिका वडा नं. ८ र ११ मा भएको पहिरोको समस्याको बारेमा बताएका थिए।
उपस्थित सबैको गुनासो र सल्लाह सुझाव सुनिसकेपछि बोल्ने क्रममा महामन्त्री थापाले देशभर आईपरेको विपत्तिमा सरकारले गर्ने कार्यको बारेमा जानकारी दिदै त्यसमा नेपाली काङ्ग्रेसको भूमिकाको बारेमा प्रष्ट्याएका थिए। त्यसै क्रममा थापाले काठमाडौं क्षेत्र नं ४ मा विकास निर्माण र विपद्को बेला राहत तथा उद्धारको काम गरि पीडितलाई छिटोभन्दा छिटो पिडा कम गराउन दुई वटा विशेष टास्क फोर्स गठन गर्न निर्देशन दिएका थिए।
उनले क्षेत्रमा एउटा र वडा स्तरमा एउटा टास्क फोर्स गठन गरी राहत र उद्धारका कामलाई अघि बढाउने र विकास निर्माणमा ध्यान दिँदै स्थानीय तहको कामकारबाहीमा खबरदारी गर्ने गरी टास्क फोर्स गठन गर्न निर्देशन दिएका हुन्।
महामन्त्री थापाले यो राष्ट्रिय विपत्तिको समयमा पार्टीको अत्यावश्यक बैठक बाहेक चाडपर्वमा आयोजना गरिने कुनैपनि प्रकारको मनोरञ्जनात्मक भेटघाट शुभकामना आदानप्रदान कार्यक्रमहरु नगर्न नगराउन पनि निर्देशन दिए।
कार्यक्रममा महासमिति सदस्य विनोद चालिसे, क्षेत्रीय सभापति श्याम कृष्ण संगत, प्रदेश २ ख का सभापति रामप्रसाद लुइँटेल, बूढानीलकण्ठ नगर सभापति राजाराम बुढाथोकीलगायत क्षेत्रीय सदस्य र स्थानीय कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो।