पर्सामा विपद्सँग बच्न विपद् स्वयंसेवक तयार पारिँदै

HTV Khabar २७ जेठ २०८२, मङ्गलबार ०८:४१ मा प्रकाशित

काठमाडौं,  पर्सामा हुने प्राकृतिक तथा मनसुनजन्य विपद्सँग जुध्नका लागि विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम शुभारम्भ गरिएको छ।

सशस्त्र प्रहरी बल नेपाल, नम्बर १३ गण हेडक्वाटर पर्साले आज यहाँ मनसुनजन्य विपद् र अन्य प्राकृतिक प्रकोपका गतिविधिमा स्थानीय समुदायको सक्रिय सहभागिता गराउने उद्देश्यले तालिमको आयोजना गरेको हो।

सो तालिममा ३० जनालाई २१ दिनसम्म विपद् स्वयंसेवक तालिम उपलब्ध गराइनेछ। वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले प्राकृतिक विपद्सँग जोगाउनका लागि यस्ता खालका कार्यक्रमको आवश्यक रहेको बताए।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले विपद्का जोखिमलाई न्यूनीकरण गर्नका लागि यस्ता खालका तालिम प्रभावकारी हुने बताए।

सशस्त्र प्रहरी बल नेपाल, नम्बर १३ गण हेडक्वाटर पर्साका गणपति राधेश्याम धिमालले प्राकृतिक विपद् सम्बन्धित तालिमले सम्भावित जोखिमको बेलामा निकै प्रभावकारी हुने विश्वास व्यक्त गरे।