पत्रकार महासंघले प्रधानमन्त्रीलाई बुझायो ७ बुँदे ध्यानाकर्षणपत्र

HTV Khabar ३० पौष २०८१, मङ्गलबार ०६:४२ मा प्रकाशित

काठमाडौं,  नेपाल पत्रकार महासंघको केन्द्रीय समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाएको छ।

प्रधानमन्त्री निवास बालुवाटार पुगेर केन्द्रीय समितिका सदस्यहरूले प्रधानमन्त्री ओलीलाई भेटेर ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन्।

महासंघले प्रधानमन्त्रीलाई सञ्चार क्षेत्रसँग सम्बद्ध स्थायी र अस्थायी संरचनाहरूमा महासंघको अनिवार्य प्रतिनिधित्वको नीतिगत व्यवस्थाका लागि ध्यानाकर्षण गराएको छ।

पत्रकारले नियमित पारिश्रमिक नपाउने समस्या भएको उल्लेख गर्दै ध्यानाकर्षण पत्रमा सरकार कानुन निर्माणमा चुकेको उल्लेख गरिएको छ।

‘सञ्चार क्षेत्रमा श्रम अधिकार सुनिश्चितताका लागि स्वायक्त, स्वतन्त्र र शक्तिशाली प्रेस रजिष्ट्रारको कार्यालय स्थापना गर्न महासंघ पुनः गम्भीर ध्यनाकर्षण गराउँछ,’ प्रधानमन्त्रीलाई बुझाइएको ध्यानाकर्षणमा भनिएको छ।

पत्रकारको निःशुल्क उपचारको व्यवस्था, महासंघको कार्यालय भवनको मर्मत सम्भार, अशक्त पत्रकारको जीविकोपार्जनको व्यवस्था आदि सुनिश्चित गर्न पनि महासंघले आग्रह गरेको छ।

विज्ञापन बोर्डलाई उद्देश्यअनुरुप काम गर्न दिनेगरी कानून परिमार्जन गर्न र समानुपातिक विज्ञापन प्रणाली कार्यान्वयनमा ल्याउन महासंघले माग गरेको छ। ध्यानाकर्षणपत्र बुझेपछि प्रधानमन्त्री ओलीले महासंघको मागमा ध्यानाकर्षण भएको भएको मागहरुलाई गहन रुपमा अध्ययन गरी सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्।