काठमाडौं, सर्वोच्च अदालतबाट स्वचालि हतियारसहित पक्राउ परेका दुर्गा प्रसाईंका दुई बडिगार्डलाई प्रहरी वृत्त सिंहदरबार पठाइएको छ।
अदालत परिसरबाट हतियारसहित पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान गर्न प्रहरी वृत्त सिंहदरबारमा पठाइएको जिल्ला प्रहरी कार्यालय काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए।
किन कुन प्रयोजनले हतियार बोकेर अदालत प्रवेश गरे, लाइसेन्स प्राप्त हतियार हो/होइन लगायतका विषय अध्ययनकै क्रममा रहेको एसपी अधिकारीले बताए। अहिले घटनाबारे अध्ययनकै क्रममा रहेकाले के कारबाही हुने/नहुने भन्न नसकिने एसपी अधिकारीको भनाइ छ।
सोमवार बिहान करिब ११ बजेतिर सर्वोच्च अदालत परिसरबाट प्रहरीले प्रसाईंका बडिगार्डद्वय दीपक खड्का र रामकुमार धिमाललाई पक्राउ गरेको थियो।
मेडिकल व्यवसायी प्रसाईंको मुद्दाको पेशी सोमबार रहेकाले उनीहरु हतियार बोकेरै सर्वोच्च अदालत पुगेका थिए। अदालतका मुल गेटमा इन्सपेक्टर विजय भण्डारीसहितको टोलीले जाँच गर्ने क्रममा हतियार भेटेपछि उनीहरुलाई पक्राउ गरिएको थियो।
उनीहरुबाट मेड इन जर्मन जिएसजी-५ लेखिएको स्वचलित हतियार १ थान, सानो र ठूलो गरेर ४ थान म्यागजिन, म्यागजिन होल्डर १ थान, त्यसको गोली १०० राउण्ड बरामद भएको थियो।