चितवन शालिन पोखरेल मृत्यु प्रकरणमा पक्राउ परेका तीनै जना १३ लाख धरौटी बुझाएर रिहा

HTV Khabar ६ चैत्र २०८०, मङ्गलबार ०७:५० मा प्रकाशित

काठमाडौं, चितवनको रत्नगर नगरपालिका–१० स्थित शिशु निकेतन माविको छात्राबासमा मृत भेटिएकी १४ वर्षीया शालिन पोखरेल प्रकरणमा पक्राउ परेका तीनै जना धरौटीमा रिहा भएका छन्।

शालिनको मृत्यु भएपछि पक्राउ परेका प्रधानाध्यापक बालहरि देवकोटा, सहप्रधानाध्यापक किरणबहादुर अधिकारी र होस्टल वार्डेन कमलप्रसाद शर्मा रिहा भएका हुन्।

शालिनको मृत्युपछि प्रहरीले तीन जनालाई पक्राउ गरेर अनुसन्धान गरेको थियो। अनुसन्धानका क्रममा शालिनले आत्महत्या गरेको पुष्टि भए पश्चात्  पक्राउ परेका तीनै जनाविरुद्ध अदालतमा चितवन प्रहरीले आत्महत्या दुरुत्साहनको मुद्दा दायर गरेको थियो।

चितवन जिल्ला अदालतका न्यायाधीश रमेशप्रसाद ज्ञवालीको इजलासले उनीहरूलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

अदालतले प्रधानाध्यापक देवकोटालाई ३ लाख र सहप्रधानाध्यापक अधिकारी र होस्टल वार्डेन शर्मालाई जनही ५/५ लाख धरौटी बुझाउन आदेश दिएको थियाे।

अदालतको आदेशपछि उनीहरू धरौटी बुझाएर थुनामुक्त भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी तथा प्रवक्ता श्रीराम भण्डारीले एचटिभी खबरलाई बताएका छन्।