काठमाडौं, बाँकेको हिरमिनियास्थित जयन्दु बाल सुधार गृहमा बालबन्दीहरूले आगो लगाएका छन्। बालबन्दीहरूबीच आपसमा कुटपिट भएपछि बाल सुधार गृह तनावग्रस्त बनेको हो। आपसमा कुटाकुट गरी बालगृहमा रहेका ६ जना बालबन्दीहरू घाइते भएका छन्।
शुक्रवार राति पौने २ बजे अचानक कुटाकुट हुँदा ६ जना घाइते भएको र उनीहरूको भेरी अस्पतालमा उपचार भइरहेको छ। कुटाकुटबाट १९ वर्षीय चन्द्र बहादुर खड्का, १९ वर्षीय देन महतरा, २१ वर्षीय आशिश चौधरी, १९ वर्षीय सुवास राड, १९ वर्षीय संजय परियार र १८ वर्षीय एक जना घाइते भएका छन्।
उनीहरूमध्ये तीन जना कर्तव्य ज्यान र तीन जना जबरजस्ती करणी मुद्दामा अदालतबाट सजाय पाएकाहरू रहेको प्रहरीले जनाएको छ। आपसमा भएको झडपपछि सुधार गृहमा रहेका दुई जना फरार छन्।
उक्त सुधार गृहमा कुल २५० जना बालबन्दी छन्। सुधार गृहमा अहिले आगो लगाएर उनीहरू घरको छतमा संगठित भएर बसेका छन्।