धनुषामा एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

HTV Khabar १३ चैत्र २०८०, मङ्गलबार ०३:३० मा प्रकाशित

जनकपुरधाम, धनुषामा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार धनुषाको मिथिला नगरपालिका– ३ हरिहरपुरका अन्दाजी २२ वर्षीय जिते महतो रहेको प्रहरीले जनाएको छ। सोही ठाउँका २५ वर्षीय सरोजकुमार महतो गम्भीर घाइते भएका छन्।

प्रहरीका अनुसार सोमबार साँझ साढे ६ बजे जनकपुर ढल्केवर सडक खण्ड अन्तर्गत धनुषाको मिथिला नगरपालिका २ नक्टाझिजमा जनकपुर तर्फबाट ढल्केवरतर्फ जाँदै गरेको प्रदेश २–०२–००१ च ०५१२०७१२ नम्बरको एम्बुलेन्सले बाटो काट्दै गरेको ज ११ प १९९ मोटरसाइकललाई ठक्कर दिएको थियो।

एम्बुलेन्स र मोटरसाइकल तीव्र गतिमा रहेकै कारण दुर्घटना भएको प्रत्यक्षदर्शीको भनाइ छ। त्यस क्रममा मोटरसाइकलमा सवार दुबैजना गम्भीर घाइते भएका थिए। जितेको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा साँझ साढे ७ बजे चिकित्सकले मृत घोषणा गरेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले बताए।


उनका अनुसार गम्भीर घाइते सरोजको प्रादेशिक अस्पतालमा उपचार हुन नसक्दा थप उपचारको लागि बाहिर रेफर गरिएको छ।एम्बुलेन्स चालक फरार रहेको र खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।