आधा तोला सुन लुट्न बृद्धाको हत्या !

HTV Khabar १६ माघ २०८०, मङ्गलबार ०८:१२ मा प्रकाशित

संखुवासभा, कानमा लगाएको सुनको झुम्का लुट्न खाँदबारीको तुम्लिङटारमा बृद्धाको हत्या गर्ने एकजनालाई प्रहरीले सार्वजनिक गरेको छ।


माघ ६ गते शनिबार आधा तोला बराबरको सुनको झुम्का लुट्ने क्रममा ६२ वर्षीया दिलकुमारी घिमिरेको हत्या गरेको आरोपमा धरानका ३० वर्षीय दीपेन भन्ने आकाश राईलाई खाँदबारी प्रहरीले आज सार्वजनिक गरेको हो।


मृतक दिलकुमारीको अस्वभाविक मृत्यु भएको अनुमान प्रहरीले गरेपछि अनुसन्धान थालेको थियो। शंकास्पद मृत्यु भएपछि प्रहरीले कोशी प्रदेशबाट तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान थालेको डिएसपी घनश्याम श्रेष्ठले बताए। 'मृतकको टाउकोको पछिल्लो भागमा गम्भीर चोट देखिएपछि अनुसन्धान थालेका थियौं,' डिएसपी श्रेष्ठले भने, 'शंकाको घेरामा रहेका राईलाई धरानमा गएर लुकेको अवस्थमा समात्यौं।’


दिलकुमारीको हत्या गरेर राई सोही दिन नै तुम्लिङटारदेखि भागेको अनुसन्धानबाट खुलेको उनले बताए। उनका अनुसार अरुण तेस्रो जलविद्युत आयोजनामा ज्यालामजदुरी गर्ने राई श्रीमतीसहित तुम्लिङटारमा कोठा भाडा लिएर बस्दै आएका थिए।


राईले वृद्धाको हत्या गरी उनको साथमा रहेको आधा तोलाको सुनको झुम्का लुटेर भागेका थिए। झुम्का उनले धनकुटाको पाख्रीबास ४ बुद्धचौकमा रूपकला ज्वेलर्सका सञ्चालक धनमाया विश्वकर्मालाई ४७ हजार रुपैयाँमा बेचेका थिए।


धनमायाले सोही गहना विवेक ज्वेलरीका देवबहादुर विश्वकर्मालाई ५८ हजार रुपैयाँमा बिक्री गरेको खुलेको छ। उनीहरू दुवैजनालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान थालेको डिएसपी श्रेष्ठले बताए।