काठमाडौं, ललितपुरको पुल्चोकस्थित होटल स्क्वायरकी सञ्चालक ललिता देवकोटा भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ।
होटल स्क्वायरका संचालकविरुद्ध जिल्ला अदालत ललितपुरबाट पक्राउ पुर्जी जारी भएपछि सञ्चालक भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई शनिवार पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएको छ। अर्की सञ्चालक रोमी अर्याल भने फरार छिन्।
ललितपुर महानगरपालिका वडा नम्बर–३ मा संचालित होटल स्क्वायरको स्विमिङ पुलमा पौडी खेल्दा मानभवनका सजिलमान शाक्य गम्भीर घाइते भएका थिए। भदौ १४ मा घाइते भएका उनी अहिले पनि अचेत अवस्थामा छन्। उनकी पत्नी रजिना मानन्धरले होटल सञ्चालकलाई कारबाहीको माग गर्दै प्रहरीमा निवेदन दिएकी थिइन्।
मानन्धरले होटल सञ्चालकद्वय रोमी अर्याल र भण्डारीविरुद्ध जाहेरी दिएकी थिइन्। दुवैजनाविरुद्ध गत साता पक्राउ पूर्जी जारी भएको थियो। सोही आधारमा प्रहरीले भण्डारीलाई पक्राउ गरेको हो। अर्यालको भने खोजि भइरहेको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ।