काठमाडौं, सशस्त्र प्रहरी बल, नेपालमा सहायक निरीक्षक (असई) पदमा नाम निकालिदिने भन्दै झण्डै पाँच लाख रुपैयाँ ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
काठमाडौं महानगरपालिका–१५ निवासी ४७ वर्षीय सोम कौशिक क्षेत्रीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले पक्राउ गरेको हो।
उनले असईमा नाम निकालिदिन्छु भन्दै पीडितसँग ई–सेवा आईडी र विभिन्न बैंक खातामार्फत गरी कुल ४ लाख ९१ हजार रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
ठगीको उजुरीका आधारमा काठमाडौं जिल्ला अदालतबाट असार ८ गते पक्राउ पुर्जी जारी भएको थियो। त्यसअनुसार खटिएको प्रहरी टोलीले सोमवार उनलाई नागार्जुन नगरपालिका–७, रामकोटबाट पक्राउ गरेको हो।
पक्राउ परेका क्षेत्रीमाथि ठगीसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एसपी काजी कुमार आचार्यले जानकारी दिए।