काठमाडौं, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) स्थित गैंडाकोटमा अवस्थित मौलाकाली मन्दिरमा दर्शनार्थीको भिड लाग्ने गरेको छ। गैंडाकोट नगरपालिका–१ मा पर्ने सो मन्दिरमा दर्शनार्थीको भिड बढेसँगै स्थानीयले त्यहाँ स्थायी प्रहरी चौकी स्थापना गर्न माग गरेका छन्।
मौलाकाली मन्दिरमा पुग्न केवलकार पनि सञ्चालनमा छ। धार्मिक पर्यटक बढेसँगै आउनसक्ने सुरक्षा चुनौतीको सामना गर्न स्थायी प्रहरी चौकीको आवश्यकता रहेको धार्मिक सेवा समिति मौलाकालिकाका अध्यक्ष खगराज कँडेलले बताए।
२०७५ मा मन्दिर परिसरमा असईको कमाण्डमा अस्थायी प्रहरी चौकी स्थापना भएको थियो। प्रहरीको आन्तरिक सञ्चारको टावर भएका कारण मन्दिरमा २०६३ देखी नै प्रहरी बस्न थालेको नवलपरासी पूर्वका एसपी यादव ढकालले बताए। उनले भने, ‘२०७५ मा त्यहाँ अस्थायी चौकी स्थापना भएको थियो।’
मन्दिरमा अहिले असई रमेश शर्मा यादवको कमाण्डमा ३ जना प्रहरी खटिएका छन्। प्रहरी कर्मचारीलाई बस्न मन्दिर परिसरमा भवन समेत बनेको हुनाले स्थायी चौकी स्थापना गर्न छलफल भइरहेको अध्यक्ष कँडेलले बताए। उनले भने, ‘आईजीपी वसन्त कुँवर र जिल्ला सुरक्षा समितिमा पनि यसबारे हामीले छलफल चलाएका छौं।’
२०३२ सालमा उत्खनन गर्दा शिला, भाला र मौलो भेटिएपछि गैंडाकोट–१ मा मन्दिर स्थापना गरिएको थियो। स्थायी प्रहरी चौकी स्थापना गर्न जिल्ला सुरक्षा समितिको सिफारिसको आधारमा गृह मन्त्रालयबाट निर्णय गर्नुपर्ने कानुनी व्यवस्था छ।
गैंडाकोटका स्थानीय विष्णुहरी रिमाल मन्दिर परिसरमा स्थायी चौकी स्थापना गर्नुपर्ने बताउँछन्। मन्दिरको पूर्वअध्यक्ष समेत रहेका रिमाल भन्छन्,‘यहाँ स्थायी चौकी राख्नुपर्ने आवश्यकता छ, त्यसबारे हामीले कुरा उठाइरहेका छौं।’