चार करोड जरिवाना तोकिएकी घराना डेभलपर्सकी सञ्चालक पक्राउ

HTV Khabar २३ माघ २०८०, मङ्गलबार १०:४५ मा प्रकाशित

काठमाडौं, बैंकिङ कसुर मुद्दामा ४ करोड जरिवाना र ३ वर्ष कैद सजाय भएकी घराना डेभलपर्सकी सञ्चालक पक्राउ परेकी छन्।काभ्रेको बनेपा घर भएकी ४५ वर्षीया मन्दिरा केसीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो।


उनले क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडका पदाधिकारी तथा कर्मचारीलाई प्रभावमा पारेर घराना डेभलपर्सका नाममा रहेको भक्तपुरको साविक चाँगुनारायण गाविस ७ र ९ को जग्गा धितो राखेर कर्जा लिएकी थिइन्।
तर तोकिएको परियोजनामा कर्जा लगानी नगरी दुरुपयोग गरेको भन्दै बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले उनलाई २०७१ वैशाख २९ गते दोषी ठहर गरेको थियो।


अदालतले ३ वर्ष कैद र ४ करोडको जरिवाना सुनाएपछि उनी फरार भएकी थिइन्। फरार रहेकी केसीलाई काभ्रेबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ। फैसला कार्यान्वयका लागि उनलाई जिल्ला अदालत काठमाडौंमा पेस गरिएको छ।