पशुपतिनाथको भेटी नै दैनिक चोरी भएपछि....

HTV Khabar ११ जेठ २०८१, शुक्रबार १२:२४ मा प्रकाशित

काठमाडौं, भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी गर्ने व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा पशुपति क्षेत्र विकास कोषका कर्मचारी अनिल परियारसहित आठ जना छन्।

उनले भने, “पशुपतिनाथ मन्दिरमा चढाइएको भेटी चोरी गर्दै गर्दा सिसि क्यामेरामा हेर्दा कोषका कर्मचारी परियारसहित आठ जनापक्राउ गरी छानबिनका लागि अहिले प्रहरी वृत्त गौशाला पठाइएको छ।

पशुपतिनाथ मन्दिरको भेटी चोरीमा संलग्न कर्मचारीले पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीलाई पोलेका छन्। कोषाध्यक्ष सुवेदीको निर्देशनमा आफूले भेटी चोरेर उनैलाई बुझाएको ती कर्मचारीको जिकिर छ। पशुपति भेटी चोरीरहेको अवस्थामा पशुपति क्षेत्र विकास कोषका ७ जना कर्मचारीसहित ८ जनालाई प्रहरीले सोमवार रंगेहात पक्राउ गरेको थियो।

पशुपति क्षेत्र विकास कोषले निगरानी गर्दा संस्कृति संरक्षण महाशाखाको भेटी गणना कक्षबाट कर्मचारीले नै भेटी लुकाएर लैजाने गरेको खुलेको सूचना प्रहरीलाई पुगेको थियो। कोषको सोही सूचनाका आधारमा प्रहरी वृत्त गौशालाको टोलीले ८ जनालाई पक्राउ गरेको हो।

प्रहरी वृत्त गौशालाका डिएसपी केशवराज थेबेका अनुसार पक्राउ पर्नेमा कोषका नायव सुब्बा नवराज ढोडारी, मन्दिरका ब्राह्मणहरू नवराज घिमिरे, राम सापकोटा र लक्ष्मण सापकोटा, मन्दिरमा बाजा बजाउने कर्मचारीहरू अनिल परियार, सनिष कपाली, कुमार दमाइ र पशुपतिनाथ मन्दिर परिसरमा रहेको नेपाल इन्भेस्टमेन्ट मेघा बैंकको रकम संकलन केन्द्रका एक कर्मचारी रहेका छन्।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.मिलनकुमार थापाले मन्दिर भित्रबाटै भेटी चोरी हुने जानकारी आएपछि सीसीटीभीको निगरानीमा राखिएको बताए। उनका अनुसार सीसीटीभीको निगरानीका क्रममा सोमवार चोरी कार्यमा संलग्नको पहिचान भएपछि अनुसन्धानका लागि प्रहरीको जिम्मा लगाएर पठाइएको हो। मन्दिरका दर्शनार्थीले श्रद्धाले चढाएको रकम चोरी गर्ने गिरोह समातिएको छ।

पशुपतिनाथ मन्दिरबाट दैनिक तीन लाखदेखि तीन लाख ५० हजार रुपैयाँसम्म भेटी संकलन हुन्छ। कोषका प्रवक्ता रेवतिरमण अधिकारीका अनुसार संकलित भेटी नेपाल इन्भेस्टमेन्ट मेघा बैंकको बत्तीसपुतली शाखाका कर्मचारीले मन्दिर परिसरमै जम्मा गर्ने गरेका थिए।

उनका अनुसार पक्राउ परेका अभियुक्तले ज्याकेटमा लुकाएर रकम लाने गरेको सीसीटीभी फुटेजमा देखिएको छ। भेटी संकलनको जिम्मेवारी नवराज ढोडारीले हेर्दै आएका थिए। तर, कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले आर्थिक नियमावलीविपरीत बाजा बजाउने कर्मचारीलाई खटाएको कोषले बताएको छ। पक्राउ परेका अनिल परियारले कोषाध्यक्ष सुवेदीले नै आफूहरूलाई पैसा संकलन गर्न र लुकाएर ल्याउन खटाएको बयान प्रहरीलाई दिएका छन्।

उनले परियारले सुवेदीकै निर्देशनमा दैनिक तीन हजारदेखि १५ हजारसम्म लिने गरेको बयान प्रहरीसमक्ष दिएका छन्। पक्राउ परेका परियारले कोषाध्यक्षले ज्याकेट लगाएर आउनू भन्ने र रकम संकलनपछि लुकाएर आफ्नो जिम्मा लगाउन भन्ने गरेको बयान दिएका छन्। ‘सीसीटीभी छ, हामी यस्तो काम नगर्ने भन्दा केही हुँदैन, कसैले देख्दैन गर भन्नुभयो, अनि गरेको,’ उनले बयानमा भनेका छन्।

परियारसहित भेटी चोरीको आरोपमा पक्राउ परेकाले सोमबार मात्रै नौ हजार रुपैयाँ लुकाएर लगेको बयान प्रहरीसँग दिएका छन्। कोषाध्यक्ष सुवेदीले भने भेटी चोरीको विषय आफूलाई थाहै नभएको बताए। उनले भने, ‘कहिले, कहाँ चोरी भएको रहेछ ? मलाई थाहै छैन।’

गौशाला प्रहरीका डिएसपी केशवराज थेबेले पशुपतिको भेटी चोरीको विषयमा अनुसन्धान भइरहेको बताए। पक्राउ परेका  ५ जनामाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ। प्रहरी वृत्त गौशालाको हिरासतमा रहेका पशुपति क्षेत्र विकाश कोषका ५ जना कर्मचारीमाथि प्रहरीले अनुसन्धान गरिरहेको हो। प्रहरीका अनुसार पक्राउ परेकामध्ये ३६ वर्षीय नवराज घिमिरे र ५१ वर्षीय नवराज ढोडारी पशुपतिको मन्दिरमा चढाएको भेटी गन्ने जिम्मेवारी लिएका कर्मचारी हुन्।

यस्तै २९ वर्षीय सञ्जय कपाली, ३५ वर्षीय कुमार दमाई परियार र ३४ वर्षीय अनिल परियार चाहिँ बाजा बजाउने कर्मचारी हुन्। तर, उनीहरूलाई पछिल्लो समय भेटी गन्नेहरूले सहयोगी बनाएको भेटिएको छ। भेटी गन्ने मुख्य जिम्मेवारीमा रहेका घिमिरे र ढोडारीसँगै उनीहरू पनि गणना गर्ने ठाउँमा जान्थे।

सो कोठामा प्रवेश गर्दा र फर्किँदा सशस्त्र र नेपाल प्रहरीले सुरक्षा जाँच गर्छ। तर, उनीहरूले भित्रबाट ज्याकेटको बाहुलामा लुकाएर रकम ल्याउने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ।