काठमाडौं, काठमाडौं महानगरलाई र शिक्षक महासंघ काठमाडौं महानगर समितिले जरुरी मागसहितको पत्र बुझाएको छ।
काठमाडौं नयाँ बानेश्वरस्थित रत्नराज्य मा.वि. को सभाकक्षमा आयोजित बैठकमा शिक्षक महासंघ काठमाडौं महानगर समितिका अध्यक्ष राजेन्द्र अधिकारीले काठमाडौं महानगर शिक्षा, स्वास्थ्य तथा सामाजिक विकास समितिका संयोजक तथा वडा नं.२२ का अध्यक्ष चिनिकाजी महर्जनलाई शिक्षकहरुको मागपत्र बुझाएका हुन्।
पूर्व आधिकारिक जानकारी बिना नै काठमाडौं महानगर शिक्षा विभागले शिक्षकहरुलाई जाडो बिदामा तालीममा सहभागी हुन उर्दी जारी गरेपछि महानगरभरिका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले त्यसको विरोध गरेका थिए।
काठमाडौं महानगरले प्रकाशित गरेको २०८१ सालको क्यालेन्डरमा नै गरेर पौष ८ गतेदेखि पौष १७ गतेसम्म दोस्रो त्रैमासिक परीक्षा गराउने र पौष १८ गतेदेखि माघ ८ गतेसम्म जाडो बिदा भनेर उल्लेख गरेको छ। तर पूर्व निर्धारित जाडो बिदालाई बेवास्ता गर्दै शिक्षा विभागले विभिन्न तालीम सञ्चालन गर्ने र उक्त तालीममा शिक्षकहरुलाई सहभागी गराउन हेडमास्टरहरुलाई उर्दी जारी गरेपछि नै त्यसको विरोधमा विभागलाई ध्यानाकर्षण पत्र बुझाएर आन्दोलनमा होमिनुपरेको शिक्षक महासंघ काठमाडौं महानगर समिति अध्यक्ष राजेन्द्र अधिकारीले एचटिभी खबरलाई बताए।
कतिपय विद्यालयका शिक्षकहरु पूर्वयोजना अनुरुप जाडो बिदाको सदुपयोग गर्दै आआफ्नो गाउँघर तर्फ गईसकेको अवस्थामा तालीम सञ्चालन हुन नसक्ने जानकारी गराउँदागराउँदै महानगर शिक्षा विभागले पौष २१ र २२ गतेदेखि लगातार जबर्जस्ती तालीम सञ्चालन गर्न कस्सिएपछि हेडमास्टरहरु चिढिएको र त्यसको विरोधमा उत्रनुपरेको महासंघका सचीव हेरम्बराज कडेलले बताए।
रत्नराज्य माविमा महानगर शिक्षा विभागका अधिकृतहरु र शिक्षक महासंघ बीच भएको बैठकमा महासंघले राखेका मागहरू आफूहरुले पुरागर्न नसक्ने बताएपछि वार्ता निष्कर्षबिहिन बनेको थियो। त्यसपछि पून: वार्ताको लागि काठमाडौं महानगर शिक्षा, स्वास्थ्य तथा सामाजिक विकास समितिका संयोजक तथा वडा नं.२२ का अध्यक्ष चिनिकाजी महर्जन आईपुगेका थिए।
शिक्षक महासंघ काठमाडौं महानगर समितिका पदाधिकारी लगायत विभिन्न शिक्षक हकहितका लागि स्थापित संघसंस्था र हेडमास्टरहरुको संयुक्तरुपमा शिक्षा समिति संयोजक महर्जनसंग वार्तामा बसेका थिए। त्यसै बैठकमा उपस्थित मध्येबाट शिक्षकको समस्याहरु महर्जनसामु राखेका थिए भने महासंघ अध्यक्ष राजेन्द्र अधिकारीले नौ बुँदे मागपत्र महर्जनलाई हस्तान्तरण गरेका थिए।
शिक्षकहरुको मागसहितको ज्ञापनपत्र बुझ्दै महर्जनले महानगर शिक्षा समितिमा शिक्षक महासंघबाट प्रतिनिधित्व निश्चित गर्ने आश्वासन दिएका थिए। शिक्षकहरुको जायज माग पूरा हुनुपर्ने उनले बताए। पहिले आफूलाई पनि शिक्षण पेशामा आउन मन लागेको तर नसकेको उनले बताए। बैठकमा बोल्दै महर्जनले भने " शिक्षाको विकास बिना समाजको विकास हुन सक्दैन। यहाँहरुलाई पनि समाजको विकास गर्ने चाहाना भएर नै शिक्षक बन्नुभएको हुनुपर्छ। त्यसैले म हार्दिक आभार व्यक्त गर्न चाहान्छु सम्मान गर्न चाहान्छु।"
शिक्षा समिति संयोजक महर्जनले शिक्षा क्षेत्र आफूले भन्दा शिक्षकहरुले नै बुझेको बताउँदै शिक्षकको सबै मागहरू पुरागर्ने र समस्यालाई सडकमा पुग्न नदिने प्रतिबद्धता जनाएको युएनटिओ काठमाडौं महानगर समिति अध्यक्ष सुरेश कटवालले जानकारी दिए। यदि यो प्रतिबद्धता भनाइमा मात्रै सिमित हुने हो भने कडा आन्दोलनमा उत्रनेपनि कटवाल बताए। बिदाको समयमा सञ्चालन गरिने तालीममा सहभागी हुने शिक्षकलाई पारिश्रमिकको व्यवस्था हुनुपर्ने उनले बताए।