दुबईबाट फर्किएका व्यक्ति गौशालामा लुटिए, पाँचजना पक्राउ

HTV Khabar १६ असार २०८२, सोमबार ०६:१२ मा प्रकाशित

काठमाडौं,  काठमाडौंको गौशालामा लुटपाट गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार दुबईबाट फर्किएका व्यक्तिलाई लुटपाट गरेको आरोपमा पाँच जनालाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा दक्षिणकालीका ३२ वर्षीय रामबहादुर तामाङ, सिन्धुपाल्चोकका ३० वर्षीय बिपिन लामा, महोत्तरीका विनोद मगर, रामेछापका ३० वर्षीय राजु तामाङ र ३० वर्षीय राजकुमार माझी छन्।

शुक्रवारसाँझ गौशालाको रून्चेडाँडाको सडकमा उनीहरूको समूहले दुबईबाट फर्किएका व्यक्तिलाई नियन्त्रणमा राखेका थिए।

डर त्रास देखाएर ती व्यक्तिसँग भएको ४५ हजार रुपैयाँ लुटेका थिए। शुक्रवार साँझ साढे ६ बजेतिर प्रहरीले उनीहरूलाई फेला पारेर नियन्त्रणमा लिएको जनाएको छ।उनीहरूमाथि अनुसन्धान गर्न जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।