नेपाली सेनाका जवान ब्राउन सुगरसहित पक्राउ

HTV Khabar १९ असार २०८२, बिहीबार ०५:३९ मा प्रकाशित

काठमाडौं,  प्रहरीले बैजनाथ गाउँपालिकाबाट नेपाली सेनामा कार्यरत एक जवानलाई लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका वडा न.२ घर भई हाल नेपाली सेनाको जग दल गण, काठमाडौंमा कार्यरत २६ वर्षीय सन्जु आले रहेका छन्।

बुधवार अपराह्नन लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्ज र इलाका प्रहरी कार्यालय बनकटुवाबाट खटिएको संयुक्त टोलीले विशेष सूचनाको आधारमा सन्जुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रहरीका अनुसार सन्जुको घरमा लागूऔषध लुकाइएको विशेष सूचनाका आधारमा खटिएको टोलीले जाँच गर्ने क्रममा घरभित्र रहेको जाँडको डरम भित्र लुकाइ छिपाइ राखेको अबस्थामा चेकजाँच गर्ने क्रमममा १० ग्राम ६२० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो।

पक्राउ परेका सैनिक जवान सन्जुलाई थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय कोहलपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवं प्रवक्ता डीएसपी दीपक पातलीले बताएका छन्।