अमेरिका लैजान्छु भनेर केन्यामा बन्धक बनाउने गिरोहका थप तीन जना पक्राउ

HTV Khabar ३१ वैशाख २०८१, सोमबार ०८:३५ मा प्रकाशित

काठमाडौं,  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अमेरिका र क्यानडा लैजाने प्रलोभन देखाएर ठगी गर्ने थप ३ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ओखलढुंगाका ४८ वर्षीय जगतबहादुर तामाङ, तनहुँ ऋषिङ गाउँपालिकाका ४६ वर्षीय विष्णुबहादुर बराली र तनहुँकै ४८ वर्षीय जंगबहादुर विक छन्।

उनीहरुलाई कञ्चनपुरको गड्डाचौकी नजिकैबाट आईतवार पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। शुक्रवार सोही मुद्दामा पक्राउ परेका टासी शेर्पा, ङिमबुटी शेर्पा र निमा शेर्पालाई एजेन्टका रुपमा राखेर संगठित मानव तस्करी गर्दै आएका थिए।

भारतको नयाँ दिल्लीमा बसेर उनीहरुले ठगी गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ।पक्राउ परेकाहरुले अमेरिका जाने प्रलोभन देखाएर प्रतिव्यक्ति ४० देखि ५० लाख रुपैयाँसम्म र क्यानडा जान प्रतिव्यक्ति २२ देखि ३० लाख रुपैयाँसम्म लाग्ने विश्वास दिलाएर ठगी गरेको प्रहरीको दाबी छ।

पक्राउ परेकाहरुले अमेरिकाका लागि दुबई ट्रान्जिट बनाएर केन्या, युगान्डा लगेर ९ महिनासम्म बन्धक बनाएको भन्दै प्रहरीमा उजुरी परेको थियो। सोही उजुरीका आधारमा यसअघि ३ जना पक्राउ परेका थिए।